मिति २०७८ माघ २८ गते महालक्ष्मी नगरपालिका वडा नं ७ को नव निर्मित वडा कार्यालय भवनको आजको कार्यक्रमका प्रमुख अतिथि बागमति प्रदेश सरकारका मुख्य मन्त्री माननिय राजेन्द्रप्रसाद पाण्डेज्यूद्वारा उद्घाटन गरिएको छ । उक्त उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य मा. कृष्णलाल महर्जनज्यू र बागमती प्रदेशसभा सदस्य एवम् प्रदेश मामिला समितिका सभापति मा. माधव प्रसाद पौडेलज्यू, नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यू र नगर उपप्रमुख श्री निर्मला थापाज्यूको आतिथ्यता र वडा नं ७ का वडा अध्यक्ष श्री नकुल थापाको अध्यक्षता रहेको थियो । त्यसैगरी महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री रोशन ज्ञवाली, वडा नं १, ४ र ६ का वडा अध्यक्षज्यूहरूसहित नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्थानीय बुद्धिजिवी तथा समाजसेवीहरूका साथै सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्य मन्त्री मा. राजेन्द्रप्रसाद पाण्डेज्यूले शुभकामना मन्तव्य राख्नुभएको थियो । वहाँले नयाँ वडा भवन निर्माणका लागि २९.३ वर्ग मिटर थप जग्गा दान गर्नुहुने समाजसेवी तथा वडा नं ७ का वडा सदस्य श्री दामोदर प्रसाद पौडेलज्यूको प्रशंसा समेत गर्नु भयो । उक्त कार्यक्रममा वडा नं ७ को नव निर्मित वडा कार्यालय भवनका लागि जग्गा दान दिनुहुने समाजसेवी दामोदर प्रसाद पौडेल, सो भवन निर्माण कमिटि र अनुगमन कमिटिका पदाधिकारीहरू, वडाका कर्मचारी र समग्र वडा विकासमा निरन्तर सहयोग गर्नुहुने समाजसेवीहरूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले नगरपालिकाबाट हालसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, खानेपानी, कृषि, पर्यटन, श्रम तथा रोजगार, यातायातलगायतका अन्य क्षेत्रहरूमा गरिएका मुख्य मुख्य उपलब्धीहरू बारे बताउनुभयो । उक्त कार्यक्रका विशेष अतिथिहरूसहित नगर उपप्रमुख श्री निर्मला थापाज्यूले शुभकामान मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा वडा नं ७ का वडा सदस्य एवं नगर कार्यपालिका सदस्य श्री रेस्मा के.सी कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । वडा कार्यालय भवन उद्घाटन कार्यक्रमको अध्यक्षता गर्नुहुने वडा नं ७ का वडा अध्यक्ष श्री नकुल थापाले सो भवन निर्माणमा सहयोग, सहकार्य तथा योगदान गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।