मिति २०७७/०२/१९ गते महालक्ष्मी नगरपालिका ललितपरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षता र प्रमुख प्रसाशकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा ज्यूको उपस्थितिमा यस नगरपालिकाक्षेत्र भित्रका १० पशुपालन कृषि फर्मका उद्यमीहरुलाई गोठ सुधारका लागि सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। सोही कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख ज्यूले कृषकहरुलाई आफ्ना उत्पादनहरु नगरभित्र निर्वाद रुपमा बजारीकरण गर्न लकडाउनले नरोक्ने र नगर भित्रका उत्पादन नगरभित्र नै बजारीकरण गर्न प्रोत्साहन समेत गर्नु भयो। साथै, कृषिलाई थप व्यवसायीकरण गरी आगामी दिनमा थप उद्यमीहरुको श्रृजना हुने जानकारी पनि दिनुभयो ।
नगरक्षेत्र भित्रका १० पशुपालन कृषि फर्मका उद्यमीहरुलाई गोठ सुधारका लागि सहयोग हस्तान्तरण कार्यक्रम
२०७७/०२/०५ गते लुभु स्थित West Wing विद्यालय परिसरमा गरिएको कोरोना परीक्षण कार्यक्रम ।
महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को संयोजगत्व र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगरपालिका क्षेत्रमा कोभिड - १९को जोखिमबाट रेड जोनमा परेका जिल्लाहरुबाट आएका, विदेशबाट आई सेल्फ - क्वारेन्टाइनमा बसिरहेका र यस नगरक्षेत्रभित्रको फोहोर व्यवस्थापनमा खटिएका श्रमिक व्यक्तिहरुको २०७७|०२|०५ गते (सोमबार) लुभु स्थित West Wing विद्यालय परिसरमा कोरोना भाइरस कोभिड - १९को परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा RDT र PCR गरी जम्मा २६५ जाना व्यक्तिहरुको कोरोना परीक्षण भएको छ जसमध्ये १७३ जना व्यक्तिहरुको RDT पद्धतिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो भने ९२ जना व्यक्तिहरुको PCR परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरिएको थियो । RDT परीक्षण गरिएको सबै नमुनाहरुको रिपोर्ट निगेटिभ आएको छ र उक्त कार्यक्रममा संकलित ९२ थ्रोट स्वाब नमुनाहरु पि.सि.आर. परीक्षण पद्धति द्वारा परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकु, काठ्माडौं पुर्याइएको छ ।
सो कार्यक्रममा प्रदेस मामिला समितिका सभापति एवं प्रदेश सभा सदस्य माननीय माधव प्रसाद पौडेल ज्यू, नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यू, नगर उपप्रमुख श्री निर्मला थापा ज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा ज्यू, वडा नं ६, ७, ८, ९ र १० का वडा अध्यक्ष ज्यूहरु लगायतका अन्य जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।
आजको कार्यक्रममा वडा नं ६, ७, ८, ९, र १० अन्तर्गतका कोभिड - १९को जोखिमबाट रेड जोनमा परेका जिल्लाहरूबाट नगर क्षेत्रभित्र प्रवेश गर्नुहुने व्यक्तिहरु, विदेशबाट आई सेल्फ क्वारेन्टाइनमा बसिरहनु भएका व्यक्तिहरु, नगरक्षेत्र भित्रको फोहोर मैला व्यवस्थापन गर्ने श्रमिकहरूलाई पहिलो प्राथमिकता दिइ त्यस पश्चात् नगरपालिका अन्तरगतका स्वास्थयकर्मीहरु, दिनहुँ विभिन्न व्यक्तिहरूसँग भेटवार्ता गर्नुहुने उपस्थित जनप्रतिनिधि तथा स्वयंसेवकहरूको परीक्षण गरिएको हो ।
हिजो इमाडोलमा गरिएको र आज लुभुमा गरिएको कोभिड १९ परीक्षण कार्यक्रमले कोभिड - १९ को जोखिमबाट रेड जोनमा परेका जिल्लाहरुबाट नगरभित्र लुकिछिपी प्रवेश गरी समुदायमा संक्रमण फैलाउन सक्ने सम्भावनाको न्युनिकरण गर्ने विश्वास नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूले व्यक्त गर्नु भएको छ ।
२०७७/०२/०४ गते इमाडोल हेल्थ पोस्टमा गरिएको कोरोना परीक्षण कार्यक्रम ।
महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को संयोजकत्व र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगरपालिका क्षेत्रमा कोभिड - १९को जोखिमबाट रेड जोनमा परेका जिल्लाहरुबाट आएका, विदेशबाट आई सेल्फ - क्वारेन्टाइनमा बसिरहेका र यस नगरक्षेत्रभित्रको फोहोर व्यवस्थापनमा खटिएका श्रमिक व्यक्तिहरुको २०७७|०२|०४ गते (आइतबार) इमाडोल हेल्थ पोष्टमा कोरोना भाइरस कोभिड - १९को परीक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा RDT र PCR गरी जम्मा २५६ जाना व्यक्तिहरुको कोरोना परीक्षण भएको छ जसमध्ये १८९ जना व्यक्तिहरुको RDT पद्धतिबाट कोरोना संक्रमण परीक्षण गरिएको थियो भने ६७ जना व्यक्तिहरुको PCR परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरिएको थियो । RDT परीक्षण गरिएको सबै नमुनाहरुको रिपोर्ट निगेटिभ आएको छ र उक्त कार्यक्रममा संकलित ६७ थ्रोट स्वाब नमुनाहरु पि.सि.आर. परीक्षण पद्धति द्वारा परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकु, काठ्माडौं पुर्याइएको छ ।
यस कार्यक्रमले कोभिड - १९ को जोखिमबाट रेड जोनमा परेका जिल्लाहरुबाट नगरभित्र लुकिछिपी प्रवेश गरी समुदायमा संक्रमण फैलाउन सक्ने सम्भावनाको न्युनिकरण गर्ने विश्वास नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूले व्यक्त गर्नु भएको छ ।
आजको कार्यक्रममा वडा नं १, २, ३, ४ र ५ अन्तर्गतका व्यक्तिहरुको कोरोना परीक्षण गरिएको छ र वडा नं ६, ७, ८, ९, र १० अन्तर्गतका कोभिड - १९को जोखिमबाट रेड जोनमा परेका जिल्लाहरुबाट आएका, विदेशबाट आई सेल्फ - क्वारेन्टाइनमा बसिरहेका र फोहोर व्यवस्थापनमा खटिएका श्रमिक व्यक्तिहरुको भोलि २०७७/०२/०५ गते लुभु स्थित West Wing विद्यालय परिसरमा कोरोना भाइरस कोभिड-१९को परीक्षण (RDT र PCR) गरिने छ।
विदेशबाट फर्केर सेल्फ क्वारेन्टाइनमा बसिरहनु भएकाको थप ८८ जनाको कोरोना भाइरस परीक्षणका लागि गरिएको थ्रोट स्वाब संकलन कार्यक्रम (दोस्रो चरण)
महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को संयोजकत्व र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगरपालिकामा विदेशबाट आई सेल्फ - क्वारेन्टाइनमा बसिरहनु भएका व्यक्तिहरुको कोरोना परीक्षणका लागि २०७७|०१|१५ गते इमाडोल हेल्थ पोष्टमा थ्रोट स्वाब सङ्कलन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ३१ जना महिला र ५७ जना पुरुष गरी जम्मा ८८ जना विदेशबाट फर्केका व्यक्तिहरुको थ्रोट स्वाब सड्कलन भएको छ । उक्त संकलित ८८ थ्रोट स्वाब नमुनाहरु पि.सि.आर. परीक्षण पद्धति द्वारा कोरोना परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकु पठाइएको छ ।
विदेशबाट फर्केर सेल्फ क्वारेन्टाइनमा बसिरहनु भएकाको कोरोना भाइरस परीक्षणका लागि गरिएको ७० जनाको थ्रोट स्वाब संकलन कार्यक्रम
महालक्ष्मी नगरपालिका ललितपुरको नेतृत्व, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) को संयोजकत्व र स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा यस नगरपालिकामा विदेशबाट आई सेल्फ - क्वारेन्टाइनमा बसिरहनु भएका व्यक्तिहरुको कोरोना परीक्षणका लागि २०७६|१२|२७ गते लुभु प्राथमिक स्वास्थ्य केन्द्र र २०७६|१२|२८ गते इमाडोल हेल्थ पोष्टमा थ्रोट स्वाब सङ्कलन कार्यक्रम सम्पन्न भएको छ। लुभु प्रा. स्वा. के. मा वडा नं ६, ८ र ९ का सेल्फ क्वारेन्टाइनमा बसेका जम्मा ४० जना को नमुना संकलन भएको थियो भने इमाडोल हेल्थ पोष्टमा वडा नं १, २, ३, ४, ५, ७ र १० का गरी जम्मा ३० जना को नमुना संकलन भएको छ। उक्त संकलित ७० थ्रोट स्वाब नमुनाहरु रीयल टाईम पि.सि.आर. परीक्षण पद्धति द्वारा परीक्षण गर्नका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकु पुर्याइएको छ । संकलित नमुनाहरुको परीक्षण पश्चात नगरवासीमा विदेशबाट फर्किएका प्रति रहेको संका-उपसंका हराउने र जनमानसमा रहेको त्रास कम हुने विश्वास नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूले व्यक्त गर्नुभएको छ ।
नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यू को संयोजकत्व र नगर विपद व्यवस्थापन समितिका सदस्यहरुको उपस्थितिमा २०७६|१२|१६ गते बसेको नगर विपद व्यवस्थापन समितिको वैठक
महालक्ष्मी नगरपालिका ललितपुरका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यू को संयोजकत्व र नगर विपद व्यवस्थापन समितिका सदस्यहरुको उपस्थितिमा २०७६|१२|१६ गते नगर विपद व्यवस्थापन समितिको वैठक सम्पन्न भयो । सो बैठकमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथामका लागि नगरपालिकाले सम्पदान गर्दै आएका कार्यक्रमहरु र भावी योजनाहरु बारे नगर प्रमुख ज्यूले जानकारी गर्नुभयो। उहाँले KIST हस्पिटलमा ६० आइसोलेसन बेड को व्यवस्था गरिएको जानकारी दिनुभयो। हरेक वडाहरुका मूल सडकहरुमा Disinfection गर्नको लागि महालक्ष्मी नगरपालिकाबाट क्लोरिनको व्यवस्था गरिएको र वडास्तर बाटै डिस्इन्फेक्सन्का कार्यहरु अघि बढाइएको जानकारी दिनुभयो । नगरमा वसोवास गर्ने अनौपचारिक (ज्याला/मज्दुरी) क्षेत्रमा कार्यरतहरु को विवरण सङ्कलन गर्ने कार्य अघि बढाइएको, विदेशबाट आएकाहरु को विवरण संकलन गरिएको र नगरपालिकामा कार्यरत डाक्टरको नेतृत्वमा स्वास्थ्यकर्मीहरुबाट उनीहरुको स्वास्थ्य स्थिति स्क्रिनिङ गरिएको र निर्न्तर सम्पर्कमा रही सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको नगर प्रमुख ज्यूले जानकारी व्यक्त गर्नुभयो। कार्यक्रममा सम्बोधन गर्दै नगर उप-प्रमुख श्री निर्मला थापा ज्युले तालिम प्राप्त महिला समुहहरुबाट मास्क उत्पादन सुरु गरिएको र उत्पादित मास्क जेष्ठ नागरिक, बालबालिका र सिमान्तकृत वर्गहरुलाई लक्षित गरी सिघ्र वितरण गरिने जानकारी दिनुभयो।
नगर विपद व्यवस्थापन समितको कोभिड-१९ कोरोना भईरस संक्रमण रोकथाम र पूर्वतयारीका विषयमा बसेको बैठक ।
महालक्ष्मी नगरपालिका ललितपुरको नगर विपद व्यवस्थापन समितिका संयोजक एवं नगरप्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षता तथा माननीय श्री माधव पौडेल ज्यूको विशेष आतिथ्यता र समितिका सदस्यहरुको उपस्थितिमा नगर विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भयो। सो बैठकमा कोभिड-१९ कोरोना भईरस संक्रमण रोकथाम र पूर्वतयारीका विषयमा छलफल गरियो। बैठकमा आइसोलेसन / कोरेन्टाइनका लागि उपयोक्त स्थलहरुका बारे छलफल गरियो। आधारभूत सुविधा सहितको आइसोलेसन / कोरेन्टाइनका लागि लोजिस्टिक अभाव रहेको र त्यसका लागि नगरपालिका प्रयासरत रहेको जानकारी नगर प्रमुख ज्यूले दिनुभयो। किस्ट अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले अस्पतालबाट उपलब्द हुनसक्ने लोजिस्टिक सपोर्ट दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथ-साथै, नगरका स्वस्थयकर्मीहरुले चेक-जाँचको क्रममा कोभिड १९ का सस्पेक्ट् भेटिएमा रेफरलका लागि डेडिकेटेड् एम्बुलेन्स सेवाको लागि नगरपालिकाले कामहरु अगाडी बढाइएको जानकारी नगर प्रमुख ज्यूले दिनु भयो। सोहि बैठकबाट नगर भित्र आवश्यक परेमा परिचालन गर्न सकिने उपलब्द स्रोत, साधन र जनशक्तिको म्यापिङ गर्ने, माईकिङ गरी जन-चेतना अभिवृद्धि गर्ने र बजार अनुगमन प्रभावकारी रुपमा अगाडि बढाइने, नगरका विभिन्न स्थनमा हेल्थ डेस्क सञ्चालन गर्ने र विभिन्न स्थानहरुमा सबुन पानीले हात-धुने व्यवस्था गरिने निर्णयहरु गरियो।
नगरपालिकामा कार्यरत स्वस्थ्यकर्मीहरुलाई डा. रमेश कुमार महर्जन द्वारा प्रदान गरिएको कोरोना भाईरस (COVID-19) सम्बन्धी Advanced Training
महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षतामा महालक्ष्मी नगरपालिकामा कार्यरत स्वस्थ्यकर्मीहरुलाई डा. रमेश कुमार महर्जन (MBBS, MD GP, DM Emergency Medicine) द्वारा कोरोना भाईरस (COVID-19) सम्बन्धी Advanced Training सम्पन्न भयो। सो कार्यक्रममा स्वास्थयकर्मीहरुले अपनाउनु पर्ने सुरक्षाका उपायहरु, COVID-19 का लक्षण र रोकथामका उपायहरु, आपत्कालिन अवस्थामा स्वास्थ्य कर्मीहरुको भुमिका र परिचालित हुने तरिका लगाएताका विषयमा डा. रमेश कुमार महर्जन ज्यूले प्रशिक्षण दिनु भयो। साथै, उहाँले उपलब्द स्रोत र साधन प्रयोग गरी कसरी PPE बनाउन सकिन्छ भन्ने जानकरी पनि दिनुभयो।
कार्यक्रममा सम्बोधन गर्दै नगर प्रमुख ज्युले आफ्नो व्यस्तताका बाबजुत प्रशिक्षण सम्पन्न गर्नु भएकोमा डा. रमेश कुमार महर्जन प्रति कृतज्ञेता व्यक्त गर्नुभयो र स्वास्थ्यकर्मीहरुलाई सुरक्षित भई सेवा प्रधान गर्नको लागि अनुरोध गर्नुका साथसाथै सबैलाई त्रसित नभई कोरोना भाइरसको संक्रमणको लक्षण र रोकथामका उपायहरु अझै जनस्तरमा पुराउन आवहान गर्नुभयो। साथै, उहाँले अन्य देशमा झैँ नेपालमा पनि महामारी फैलिए स्वास्थ्यकर्मीहरु नै फ्रन्टलाईन आर्मीको रुपमा उभिनुपर्ने हुँदा स्वास्थ्यकर्मीहरूलाई सुरक्षित, सावधान र तयार रहन अनुरोध गर्नुभयो।
प्रमुख प्रशासकिय अधिकृत श्री लक्ष्मीप्रसाद रेग्मी ज्यूको विदाई कार्यक्रमको झलकहरु ।
महालक्ष्मी नगरपालिका ललितपुरमा २०७५|०५|०४ गते देखि प्रमुख प्रशासकिय अधिकृत पदमा कार्यरत रही राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा हुनु भएका श्री लक्ष्मीप्रसाद रेग्मी ज्यूको विदाईमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठ ज्यूको अध्यक्षता र नगर उप-प्रमुख श्री निर्मला थापा ज्यू, कार्यपालिकाको सदस्यहरु र सम्पूर्ण कर्मचारीहरुको सहभागितामा मिति २०७६|१२|०४ गते महालक्ष्मी नगरपालिकाको कार्यालयमा विदाई कार्यक्रम आयोजन गरियो। विदाई भएर जानुभएका प्रमुख प्रशासकिय अधिकृत ज्यूको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति र वृत्ति विकासको शुभकामना व्यक्त गर्दै नगर प्रमुख ज्यू, उप-प्रमुख ज्यू, सबै वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै वडा नं. १ का वडा अध्यक्ष ज्यू तथा प्रमुख शिक्षा अधिकृत ज्यूले आफ्नो मन्तव्य राख्नु भयो ।
महालक्ष्मी नगरपालिका ललितपुरको आधारभूत तहको परीक्षा २०७६
महालक्ष्मी नगरपालिका ललितपुरले फागुन २९ गते देखि २०७६ को आधारभूत तह (कक्षा ८) को नगरस्तरीय परीक्षा सञ्चालन गरिरहेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारुप, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा प्रचलित शिक्षा ऐन नियमावलीवमोजिम कक्षा ८ को परीक्षा एस. ई. ई परीक्षाको मापदण्ड, वैधता, विश्वसनीयता स्तरीयता र प्रमाणिकतालाई अनुशरण गर्नुपर्ने हुन्छ । सोही वमोजिम नगरभित्रका सामुदायिक र संस्थागत गरी कूल ४६ वटा विद्यालयहरुका १८४० विद्यार्थीहरु सम्मिलित रहेको सो परीक्षा कुल ७ वटा परीक्षा केन्द्रहरु तय गरिएको छ । प्रश्नपत्र निर्माण भण्डारण, लगायत उत्तरपुस्तिका कोडिङ-डिकोडिङ, लगायतका स्तरीकृत परीक्षण सम्पूर्ण मापदण्डहरुको पूर्ण पालना गरिएको छ।
परीक्षार्थीहरुमा रहेको कोरोना भाइरसको त्राश हटाउनका लागि तथा स्वास्थ्य समस्या पहिचान गरी समाधान गर्नका लागि हरेक परीक्षा केन्द्रहरुमा मेडिकल डाक्टरको नेतृत्वमा ३ जना स्वास्थ्यकर्मीहरु रहेको हेल्थ डेस्कको व्यवस्था गरिएको छ। जहाँ आवश्यक अत्याधुनिक उपकरणहरु जस्तै लेजर थर्मोमिटर, अक्सिमिटर, आदि र औषधीहरु व्यवस्था गरिएको छ। साथै, हरेक विद्यार्थीलाई एक-एक वटा पुन प्रयोग गर्न मिल्ने मास्क समेत उपलब्ध गराइएको छ। त्यसैगरी हरेक परीक्षा केन्द्रमा तातो पानी, सावुनसहितको हात धुने ठाउँको व्यवस्था र हेल्थ डेस्कमा सानिटाइजरको व्यवस्था, रुघा खोकी लागेका विद्यार्थीहरु भए छुटै कोठामा परीक्षा लिने व्यवस्था तथा कुनै विद्यार्थीको स्वास्थ्यमा जटिलता देखिए तत्कालै हस्पिटल पुर्याउने सम्मको पनि सम्पूर्ण व्यवस्था गरिएको छ।




























