महालक्ष्मी नगरपालिकाको नवौं नगरसभा सम्पन्न ।

मिति २०७७/०९/१७ गते बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् प्रदेश सभा सदस्य मा. माधवप्रसाद पौडेलज्यूको आतिथ्यता र नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षतामा महालक्ष्मी नगरपालिका ललितपुरको नवौं नगरसभा सम्पन्न भयो । सो बैठकमा महालक्ष्मी नगरपालिकाको आठौं नगरसभाबाट स्वीकृत बजेटको सिमाभित्र रहेका ६०-४० अन्तर्गतका योजनाहरु र अन्य सार्वजनिक निर्माण शीर्षकको कार्यक्रमबाट कार्यपालिकाको बैठकबाट निर्णय भई सञ्चालित योजनाहरु साथै उक्त नगरसभाबाट स्वीकृत भएका केही योजनाहरु संशोधन गर्न र नगरस्तरीय योजनाहरु संशोधन सम्बन्धी प्रस्ताव नगर उपप्रमुख श्री निर्माला थापाज्यूद्वारा नगरसभासमक्ष पेश भई सर्वसम्मत रुपमा पारित गरिएको छ। त्यसै गरी आजको बैठकमा महालक्ष्मी नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ सभा सदस्य श्री कुवेर के.सीद्वारा र महालक्ष्मी नगरपालिकाको नगर वन व्यवस्थापन विधेयक, २०७७ सभा सदस्य श्री गंगा दहालद्वारा सभासमक्ष पेश भई सर्वसम्मत रुपमा पारित गरिएको छ। सोही महालक्ष्मी नगरपालिकाको नवौं नगरसभामा महालक्ष्मी नगरकार्यपालिकाले चालु आ.व. को श्रावणदेखि हालसम्म गरेका निर्णयहरु अनुमोदन गर्ने सम्बन्धी प्रस्ताव सभा सदस्य श्री बासुदेव महर्जनद्वारा सभासमक्ष पेश भई सर्वसम्मतीले पारित गरिएको छ । सभा सदस्य श्री रमेश थापाद्वारा महालक्ष्मी नगरपालिकाको लेखापरीक्षण प्रतिवेदन सम्बन्धमा लेखा समितिको प्रस्ताव सभा समक्ष पेश भई सर्वसम्मत रुपमा पारित भएसँगै सभाध्यक्षज्यूले नवौं नगरसभा सम्पन्न भएको घोषणा गर्नुभयो ।

महालक्ष्मी नगरपालिका नगरसभाको नवौं अधिवेशन