महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिका
मितिः २०७७/१२/११
महालक्ष्मी नगरपालिकाका प्रमुखको अपिल
‘लकडाउनको एक वर्षः कोरोना महामारीमुक्त भएका छैनौं’
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ । सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो । त्यस पछि पटक–पटक गरेर देशव्यापी रूपमा गरिएको लकडाउन चार महिनापछि अन्त्य भएको थियो । लकडाउन अन्त्य भए पनि प्रदेश, जिल्ला र स्थानीय तहमा अलग–अलग रूपमा निषेधाज्ञा र लकडाउन गरिएको थियो ।
छिमेकी मुलुक भारतमा फेरि कोरोना संक्रमण बढ्न थालेसँगै नेपालमा समेत त्रास बढेको छ । गत वर्ष पनि भारतमा संक्रमण फैलदा त्यसको असर तत्कालै नेपालमा परेको थियो । पुनः भारतमा संक्रमण वृद्धि भएसँगै नेपालमा सतर्कता अपनाउन जरुरी छ । सबै सरकारी तथा गैर सरकारी कार्यालय, विश्वविद्यालय, विद्यालय, कलकारखाना र सार्वजनिक सवारी साधनमा धेरैभन्दा धेरै स्वास्थ्य सुरक्षा सावधानी अपनाउनुपर्ने देखिन्छ । सबै नागरिकले आफ्नो कर्तव्य सम्झिएर जनस्वास्थ्य मापदण्ड पालना गर्न जरुरी छ ।
नागरिकहरुमा कोरोना खोप आएपछि महामारी सकिएकोजस्तो आचार–विचार र व्यवहार हुन थालेको छ । खोप लगाउँदैमा शतप्रतिशत सुरक्षित हुँदैन । संक्रमण हुने र अरूलाई सार्ने सम्भावना कायमै हुन्छ । नयाँ संक्रमित मात्र होइन, खोप लगाएका व्यक्तिमा पनि पुनः संक्रमण हुन सक्छ । तसर्थ कोरोना विरूद्धको खोप लगाइकाहरूले समेत अनिवार्य रुपमा जनस्वास्थ्य सुरक्षाको पालना गर्नु पर्दछ ।
आदरणीय नगरवासी आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरुमा, म पुनः जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न जस्तै भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, भीडभाड हुने कार्य नगर्न र आफु पनि सहभागी नहुन सम्पूर्णमा विशेष अनुरोध गर्दछु ।
रामेश्वर श्रेष्ठ,
नगर प्रमुख
"Unite To Fight Against Corona Virus, COVID-19"