महालक्ष्मी नगरपालिका
महालक्ष्मी नगरपालिका
मिति २०७८ कात्तिक १६ गते महालक्ष्मी नगरपालिका ललितपुरको आयोजना र श्री महालक्ष्मी मा. वि.को व्यवस्थापनमा “नगरस्तरीय खुल्ला कविता प्रतियोगिता (माध्यमिक तह)” सम्पन्न भयो । उक्त कार्यक्रममा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको प्रमुख आतिथ्यता, नगर उपप्रमुख श्री निर्मला थापाज्यूको विशेष आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटा, वडा नं ८ र ९ का वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्यहरू, नगर शिक्षा समिति सदस्यहरू, महालक्ष्मी मा.वि. का वि.व्य.स. अध्यक्ष, नगरभित्रका शैक्षिक संघ-संघठनका पदाधिकारीहरूको आतिथ्यता र सहभागी विद्यालयका प्र.अ तथा प्रतिनिधि शिक्षकहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता प्रमुख शिक्षा अधिकृत श्री चिरञ्जीवी पौडेलले गर्नु भएको थियो ।
मुकुन्दप्रसाद पोखरेल निर्णायक मण्डल संयोजक र पूर्णानन्द ओझा र उर्मिला ढकाल निर्णायक मण्डल सदस्य रहनुभएको उक्त प्रतियोगितामा २० विद्यालयहरूबाट जम्मा ३७ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । यस नगरस्तरीय खुल्ला कविता प्रतियोगिताका विजेताहरू निम्नानुसार रहेका छन् ।
प्रथमा - सुमिना विष्ट (हेरिटेज इ.बो. स्कुल), शीर्षकः बुद्धको खोजी
द्वितीय - अर्पण घिमिरे (महालक्ष्मी एकेडेमी), शीर्षकः द्रोणाचार्यले कमण्डलु बोकेको देखे
तृतीय - शुभम् कार्की (पिसपोइन्ट एकेडेमी), शीर्षकः कुरा बुझौँ साँचो
सान्त्वना - आशिका घिमिरे (सिस्नेरी मा.वि), शीर्षकः तिमी र धर्ती
प्रतियोगिताका विजेताहरूलाई नगर प्रमुखज्यूले नगद पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गर्नुभयो भने प्रमुख प्रशासकीय अधिकृत, प्रमुख शिक्षा अधिकृत, वडा अध्यक्षहरू र कार्यपालिका सदस्यहरूले विजेता र सहभागी विद्यार्थीहरूलाई सम्मान तथा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।
नगर प्रमुखज्यूले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि नगरपालिकाबाट आयोजित यस प्रकारका प्रतियोगिताहरूले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोभिड-१९ को महामारीको समयमा वैकल्पिक माध्यमबाट शिक्षण सिकाइलाई प्रभावशाली ढङ्गले निरन्तरता दिइएकोमा विद्यार्थी, शिक्षक र विद्यालयहरूप्रति आभार व्यक्त गर्नुभयो । उहाँले प्रतियोगिताका विजेताहरूलाई बधाई एवम् शुभकामना दिनुका साथै प्रतियोगिताका सहभागी सम्पूर्ण विद्यार्थीहरूको प्रशंसा गर्नुभयो । साथै प्रतियोगिताका निर्णायक मण्डलका संयोजक र सदस्यहरू र प्रतियोगिता व्यवस्थापन गर्नुहुने श्री महालक्ष्मी मा.वि परिवारलाई नगर प्रमुखज्यूले मायाको चिनो र प्रशंसा पत्र प्रदान गर्नुभयो ।