महालक्ष्मी नगरपालिकाको विज्ञप्ति
विज्ञप्ति
मिति २०८३/०५/१० गते बुधवारका दिन रसुवा जिल्ला तथा भोटेकोशी, त्रिशुली र नारायणी नदी आसपासका क्षेत्रमा आएको बाढीले अकल्पनिय आर्थिक, मानवीय, भौतिक तथा भावनात्मक क्षति पुर्याएको छ। यस दुखद घटनामा परी मृत्यु हुने व्यक्तिहरुमा भावपूर्ण श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना तथा प्रभावित घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। राष्ट्रिय विपदको यस समयमा महालक्ष्मी नगरपालिकाको तर्फबाट देहायबमोजिम राहत/सहयोग उपलब्ध गराईएको व्यहोरा अनुरोध छ।
१. महालक्ष्मी नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको तर्फबाट १ महिनाको सेवा सुविधा वापत हुन आउने रकम, २. महालक्ष्मी नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुको ७ दिन बराबरको तलबबाट कट्टा गरी हुन आउने रकम, ३. महालक्ष्मी नगरपालिकाको विपद कोषबाट समेत गरी एकमुष्ट ३०,००,०००/- (अक्षररुपी तिस लाख रुपैया) रुपैया बराबरको आर्थिक सहायता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी निर्णय भएको साथै प्रभावितहरुको उद्धार, घाइते तथा बिरामीको ओसारपसार कार्यका लागि नगरपालिकाबाट नगर प्रहरी सहितको एम्बुलेन्स समेत पठाइएको छ।
साथै यस महालक्ष्मी नगरपालिका भित्र बसोवास गर्ने नागरिक उक्त विपदबाट प्रभावित भएको, सम्पर्कमा नआएको, उद्धार गर्नुपर्ने अवस्थामा रहेको जानकारी प्राप्त भएमा यस महालक्ष्मी नगरपालिका र अन्तर्गतका वडा कार्यालय, प्रहरी चौकी तथा सुरक्षा निकायहरुमा सम्पर्क गरी खोजी तथा उद्धार कार्यमा सहयोग पुर्याउनुहुन अनुरोध गरिन्छ।