२०७७ भाद्र ११ गते महालक्ष्मी नगरपालिकामा बसेको नगर विपद् व्यवस्थापन समितिको बैठक ।

आज मिति २०७७/०५/११ गते महालक्ष्मी नगरपालिका ललितपुरको नगर विपद व्यवस्थापन समितिका संयोजक एवं नगरप्रमुख श्री रामेश्वर श्रेष्ठज्यूको अध्यक्षता, बागमती प्रदेशका प्रदेश मामिला समितिका सभापति एवम् माननीय प्रदेश सभा सदस्य श्री माधव पौडेलज्यूको विशेष आतिथ्यता, नगर उपप्रमुख श्री निर्मला थापाज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री पुरुषोत्तम सापकोटासहित समितिका सदस्यहरु ने.क.पा बागमती प्रदेश कमिटी सदस्य श्री शिव कट्टेल, ने.क.पा नगर अध्यक्ष श्री हरिगोविन्द श्रेष्ठ, ने.का. नगर सभापति श्री दिवाकर सिल्वाल, रा.प्र.पा नगर अध्यक्ष श्री नरेश कार्की, रेडक्रस प्रतिनिधि श्री विष्णु रोक्का, विपद् विज्ञ श्री सूर्य बहादुर थापा, इमाडोल र लुभु प्रहरी प्रभागका इन्चार्जहरुको उपस्थितिमा नगर विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भयो।

उक्त बैठकमा कोरोना भाईरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा संक्रमितहरुको उचित व्यवस्थापन सम्बन्धी विषयमा छलफल गरियो । त्यसैगरी, बैठकमा आइसोलेसन निर्माणका लागि उपयुक्त स्थलको छनोटबारे छलफल गरियो। बैठकमा नगर प्रमुख श्री रामेश्वर श्रेष्ठज्यूले हालसम्मको संक्रमण अवस्था र संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले गर्दै आएका कार्यहरुबारे जानकारी दिनुभयो । उहाँले कोभिड-१९ संक्रमितहरुका लागि डेडिकेटेड् एम्बुलेन्स सेवाको कार्य यथासिघ्र सञ्चालन गरिनेबारे पनि जानकारी दिनुभयो । उहाँले संक्रमित र उनका परिवारजनहरुप्रति लक्षित केही सामाजिक दुर्व्यवहारका घटनाहरु घटेकाले त्यस्ता निन्दनीय कार्यहरु तत्काल रोक्न आग्रह गर्दै संक्रमित र तिनका परिवारलाई मनोबल उच्च राख्न सहयोग र सहकार्यसमेत गर्न अनुरोध गर्नुभयो । आजको बैठकमा आम नगरवासीहरुलाई कम आतङ्कित र धेरै होसियार हुन मदत गर्ने सूचनामूलक कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने सम्बन्धमा समेत छलफल गरियो । सोही बैठकबाट नगर प्रमुखज्यूले नगरपालिकासँग सम्पर्कमा नआएका संक्रमित र त्यस्ता संक्रमितको क्लोज कन्ट्याक्टमा रहेका तर PCR परीक्षण गर्न छुटेका व्यक्तिहरुको जानकारी नगरपालिकालाई उपलब्ध गराउन सबै राजनितिक दलहरुलाई आग्रह गर्नुभयो ।